काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु भोलि शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार आठौं चरणका दुई खेलहरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा एपीएफ क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको आठौं चरणको पूर्वसन्ध्यामा सबै क्लबले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
खेल अघिको प्रि म्याच कन्फरेन्समा क्लबका प्रशिक्षक र सहायक प्रशिक्षकहरु के भन्छन् ?
राज कुमार केसी (सहायक प्रशिक्षक) - संकटा क्लब
हाम्रो डिफेन्सिभ मिडफिल्डर अर्नेस्ट टाम्पी नहुँदा हामीलाई अलिकति घाटा हुन्छ । तर, सातदोबाटोको मार्टिन खेल्न नपाउने हुँदा लगभग खेल उस्तै बराबरकै हुन्छ । उनको एन्कलको माथिको हड्डी फ्याक्चर भएको छ । लगभग ३ महिना उसको स्टिल राख्नु पर्छ, उसले लिग खेल्दैन । उनको स्थानमा भारतीय खेलाडी ल्याउने तयारी छ ।
सुरज महर्जन (सहायक प्रशिक्षक) - सातदोबाटो युथ क्लब
संकटा राम्रो टिम छ । हामीले त्यहिँ अनुसार तयारी गरिरहेका छौँ । भोलि है त्यहिँ देखाउने छौँ । हामीले कुनै पनि टिमसँग गिभअप गर्दैनौं । संकटासँग त्यहिँ अनुसार खेलाडी मोटिभेट गरेर मैदानमा खेल्ने छौँ । टिम वर्क मिलेको छैन त्यसैमा काम गरिरहेका छौँ ।
रत्न महर्जन (सहायक प्रशिक्षक) - एपीएफ क्लब
तयारी राम्रो भएको छ । पहिलाको खेल स्कोर भएन । डिफेन्डमा गोल भईरहेको छ । त्यसमा ध्यान दिएर तयारी भएको छ । जावलाखेल टिम राम्रो टिम हो । दुर्भाग्य उहाहरुको स्कोर निस्किएको छैन । समग्रमा भन्दा राम्रो टिम छ । उनीहरुको कमजोरीलाई क्यालकुलेसन गरेर तयारी गरेका छौं ।
किशोर केसी (मुख्य प्रशिक्षक ) - जावलाखेल युथ क्लब
टिम तयारी शतप्रतिशत नै राम्रो छ । आठौं चरणमा खेलाडीले नआतिकन धर्यताका साथ खेल्छ भन्ने विश्वास छ । एपीएफले सुधारिएको खेल पस्किदै आएको छ । विदेशी खेलाडी समेत राखेको छ । टेक्निकल हिसाबले हामी माथि हो की जस्तो लाग्छ । त्यो प्रमाणित गर्ने खेल भोलिको खेलले बताउनेछ । गोलकै लागि हामीले अभ्यास गरिरहेका छौँ । भोलि राम्रो नतिजा निस्कन्छ भन्ने विश्वास गरेको छु ।
प्रवेश कटवाल (मुख्य प्रशिक्षक ) - मछिन्द्र फुटबल क्लब
हाम्रो फ्रेन्ड्स क्लबसँग छ । त्यसका लागि तयारी गरिसकेका छौँ । हाम्रो लक्ष्य उपाधि जित्ने थियो र सातौं चरण सकिदासम्म हामी शीर्ष स्थानमा छौँ । त्यसको फाईदा हामीलाई छ । लिगको अन्तिम खेलसम्म हाम्रो लक्ष्य उपाधि हुनेछ । तालिका हेर्दा फ्रेन्ड्स कमजोर देखिएको छ तर मैले कमजोर आकेको छैन । पुछारमा हुने टोलीले रेलिगेसन बचाउन शतप्रतिशत खेल्ने हुँदा त्यहि अनुसार योजना बनाएको छु । लिगको अन्तिमसम्म अपराजित रहने योजना बनाएको छु ।
राजु तामाङ (सहायक प्रशिक्षक) - त्रिभुवन आर्मी क्लब
हामी जित्नका लागि खेल्छौ । हामीले अग्रता जोगाउन सकेको छैनौँ । त्यता केन्द्रित छौँ । एनआरटीको खेल हेर्दा उनीहरुको स्कोरमा राम्रो छ । उनीहरुलाई रोक्ने र पाएको मौकालाई सदुपयोग गर्ने रणनीतिमा हामी छौँ । जसरि पनि हामी ३ अंक लिने योजनाले खेल्छौं ।
राजुकाजी शाक्य (मुख्य प्रशिक्षक) - एनआरटी
खेलका लागि तयार छौँ । यस अघिको केहि खेलमा राम्रो गर्दा गर्दै पनि गोलहरु खाइरहेका छौँ । त्यस गल्तिहरु नगर्न काम गरिरहेका छौँ । आउने खेलमा हामी ३ अंकको लागि खेल्ने छौँ ।
उर्जन श्रेष्ठ (मुख्य प्रशिक्षक ) - थ्री स्टार
आगामी खेलमा हामी ३ अंकको लागि खेल्छौं त्यहि अनुसार तयारी छ । यस अघि हामीले जित्यौं त्यसैले खेलाडीको मोरल हाइ छ । हामीले एउटा स्ट्राइकर थप गरेपछि खेल राम्रो भएको छ । अझै राम्रो हुँदै जान्छ जस्तो लाग्छ । अब हाम्रो खेल राम्रो हुँदै जानेछ । विपक्षी टिम राम्रो छ । उनीहरुले लगातार जितिरहेको छ गोल गरिरहेको छ । हाम्रो पनि राम्रो छ । राम्रो खेल हुन्छ जस्तो लागेको छ ।
अनन्त राज थापा (मुख्य प्रशिक्षक) - पुलिस क्लब क्लब
अबको आउने खेलहरु हाम्रो लागि एकदमै महत्वपूर्ण रहेको छ । सबै टिम हाम्रै स्तरको टिम छ । त्यसैले हरेक खेल ३ अंकको लागि खेल्ने छौँ । यस अघिका केहि खेलहरुले हामीलाई अप्ठेरो पर्यो । राम्रै स्थानमा रहेर लिग सकाउने योजना छ ।
सनोज श्रेष्ठ (मुख्य प्रशिक्षक) - ब्रिगेड ब्वाइज क्लब
पुलिससँगको खेल हाम्रो लागि महत्वपूर्ण खेल हो । पुलिस धेरै राम्रो टिम हो । पुलिससँग हामी जित्नकै लागि खेल्छौं । जित्ने रणनीति छ । लगातार तीन खेल हारेकोले आज जित्नैपर्ने छ ।