बेसीसहर । बुद्ध युवा क्लब लमजुङको बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा समाज कल्याणलाई ३-० ले हराउँदै बुद्ध उपाधि नजिक पुगेको हो ।
बुद्धको जितमा यान्निकले ५१ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८१ औं मिनेटमा सन्दीप राना मगरले गोल गर्दै बुद्धलाई २-० को अग्रता दिलाए । उनी खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

त्यसपछि ८९ औं मिनेटमा आशा गुरुङले गोल गर्दै बुद्धलाई ३-० को जित दिलाए ।
अब उपाधिका लागि बुद्धले श्री भगवती क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा आयोजक तथा साविक विजेता त्रिवेणी युवा क्लबलाई ३-० ले हराउँदै श्री भगवती उपाधि नजिक पुगेको हो ।
श्री भावतीलाई जित दिलाउन अर्मान्ड बिओडानले दुई गोल गरे । अमित लामाले एक गोल थपे ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।