एजेन्सी । जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेश विजयी भएको छ । आइतबार भएको खेलमा घरेलु टोली बंगलादेशले जिम्बावेलाई २८ रनले हराएको हो ।
ढाकामा बंगलादेशले दिएको २७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४३ रन मात्र बनाउन सक्यो ।
जिम्बावेका सिन विलियम्सले अविजित ५० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै जिम्बावेका क्यले जार्भिसले ३७ तथा सिफस जुवाओले ३५ रन जोडे । बंगलादेशका हसन मिराजले ३ तथा नाजमुल इस्लामले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७१ रन बनाएको थियो । बंगलादेशका लागि इम्रुल काएसले १४४ रनको शतकीय इनिङस खेले ।
त्यस्तै मोहमद साईफुदीन ५० रन जोड्दा मोहमद मिथुनले ३७ रन जोडे । जिम्बावेका क्यले जार्भिसले ४ तथा टेण्डाई चताराले ३ विकेट लिए ।
पहिलो खेलको जितसंगै बंगलादेशले तीन खेलको सिरिजमा १ - ० ले अग्रता बनाएको छ ।