काठमाडौं । रोमेलु लुकाकुले सार्वजनिक रूपमै भनेका छन्, उनी फेरि इन्टर मिलान फर्कन चाहन्छन् ।
त्यसको सिधा सिधा अर्थ त उनी चेल्सी छाड्न चाहन्छन् भन्ने नै हो ।
इन्टरका लागि इटालीको सिरी ए उपाधि जिते लगतै उनी यस सिजनको सुरुमा चेल्सी आएका थिए । तर उनी चेल्सीमा खुसी छैनन् ।
चेल्सीका लागि पछिल्ला दुई खेलमा गोल गरेका बेल्जियमका लुकाकुले आफू कोरोना भाइरस संक्रमणबाट पूर्णत: निको भइसकेको पनि बताए ।
तर उनको मूल भनाइ हो, प्रशिक्षक थोमस टुचेलले जसरी चेल्सीलाई खेलाइरहेका छन्, त्यसमा उनी खुसी छैनन् ।
स्काइ स्पोर्टससँगको कुराकानीमा उनले भनेका छन्, ‘शारीरिक रूपमा म पूर्णत: फिट छु, तर चेल्सीको अहिलेको स्थितिमा खुसी छैन् ।’
उनको तर्क रहेको छ, ‘टुचेलले अर्कै शैलीमा टिमलाई खेलाउन चाहन्छन् । म त्यसमा सन्तोष हुन सकेको छैन । यो सामान्य पनि हो । एक व्यवसायिक खेलाडीका रूपमा मैले गर्ने भनेको टिमका लागि सक्दो राम्रो खेल्ने नै हो ।’
उनले जुन प्रकारले इन्टर छाडेका थिए, त्यसमा पनि माफि मागेका छन् ।
उनले थपेका छन्, ‘म इन्टरका समर्थकसामु माफि माग्न चाहन्छु, किनभने मैले ठीक ढंगले क्लब छाडिन । मेरो मनमा अझै पनि इन्टर छ र कुनै दिन फेरि यही क्लबका लागि खेल्ने इच्छा छ । मैले भित्री मनदेखि भनेको छु, म फेरि इन्टर फर्कन चाहन्छु र यो मेरो खेल जीवनको अन्त्यतिर होइन ।’
–मार्काको सहयोगमा ।