काठमाडौं । न्युरोड टिम एनआरटीले पछिल्ला केही संस्करणको लिगमा राम्रो गर्न सकेको थिएन् ।
यसपल्ट भने केही महत्त्वकाक्षी रहेको छ र सहिद स्मारक लिग ए डिभिजन ०७८ को सातौं चरणमा फ्रेन्ड्सको सामना गर्ना आफू अनुकुल स्पष्ट नतिजाको अपेक्षामा हुनेछ ।
यसअघि केही हदसम्म एनआरटीमाथि हाबी रहेको फ्रेन्ड्स भने अहिले खराब लयबाट गुज्रिरहेको छ ।
वर्ष ०७६ मा फ्रेन्ड्सले एनआरटीलाई २–० ले हराएको थियो, त्यसमा ललितपुरको टिमका लागि एक एक गोल गरेका थिए, सन्तोष महर्जन र ब्राजिली खेलाडी वान्गर डे कार्मोले ।
वर्ष ०७५ को खेल १–१ को बराबरीमा छुट्यो । वर्ष ०७० मा यी दुई टिमबीच भेट भएन् । वर्ष ०६९ मा भएका दुई खेलमध्ये दोस्रोमा फ्रेन्ड्स नै विजयी रह्यो ।
त्यसमा फ्रेन्ड्सले २–१ को जित निकालेको थियो । यस अगाडि पहिलो चरणको खेल गोलरहित बराबरीमा टुंगेको थियो ।
फ्रेन्ड्समाथि एनआरटीको अन्तिम जित ०६८ मा प्राप्त भएको थियो, जति बेला उसको पक्षमा खेल १–० रह्यो ।
अहिले फ्रेन्ड्स ६ खेलबाट ३ अंकमै सीमित रहेर अंक तालिकाको पुछारमा छ । एनआरटीको भने ६ खेलबाट ७ अंक छ र आठौं स्थानमा छ ।