काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले आइतबार थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाड्यो ।
साविक उपविजेता समेत रहेको आर्मीले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै आर्मीको एएफसी कप छनोट खेल्ने सपना समेत सकिएको छ ।
एन्फाले सातौं चरणसम्म शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने जनाएको छ ।
अब छनोटको दौडमा साविक विजेता मछिन्द्र र मनाङ रहेका छन् ।
एएफसी कप छनोट खेल्ने सपना सकिए पनि आर्मीले उपाधि जित्ने आशा भने राखेको छ ।
'हामी तीन अंकका लागि संघर्ष गरिरहेका छौ । हामी एएफसी कपबाट बाहिरिएका छौँ । तर लिग अझै बाकी छ,' आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले भने,'अझै ७ खेल बाँकी छ । हामीले जित्यौ र अरुको नतिजा पनि हेर्नु पर्छ । उपाधिको आशा भने छ ।'
प्रशिक्षक न्यौपानेले आफ्नो टिम महत्वपूर्ण खेलमा चुक्ने गरेको समेत बताए ।
'जहिले नि महत्त्वपूर्ण खेल गुमायौं । पहिलो हाफमा अवसर पाएका थियौ । तर स्कोर गर्न सकेनौ । फिनिसङमा चुक्यौ । सातदोबाटोसँगको खेल महत्त्वपूर्ण थियो । आजको खेलमा पनि थ्री स्टारसँग जितेको भए अझै अवसर थियो । तर, सकेनौ,' उनले थपे ।