इलाम । टाइब्रेकरमा जित निकाल्दै दमकको रोयल स्पोर्टिङ क्लब विर्तामोडमा जारी तमु ल्होसार महिला गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न खेलमा दमकले आयोजक विर्तामोडलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । डोमालाल राजवंशी रंगशालामा भएको खेलको टाइब्रेकरमा दमककी गोलरक्षक कल्पन क्षेत्रीले बिर्तामोडकी अनु राई र सुनकला राईको प्रहार बचाएकी थिइन् ।
बिर्तामोडका लागि कप्तान खुस्मा राई र सुनिता घलानको प्रहारमात्र गोलमा परिणत भएको थियो । दमककी छत्रिका चौधरी, सन्जु राई, इमा चम्लागाई र ममता राउतको प्रहार गोलमा परिणत भएको थियो । खेल अवधिभर दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकलिएको थियो ।
पहिलो हाफमा दुई टोलीले सामान्य खेल खेले पनि दोस्रो हाफमा आयोजक केही आक्रामक देखिएको थियो । भर्खरै बंगलादेशमा सम्पन्न यु–१९ साफ महिला फुटबल खेलेकी कुसुम खतिवडा खासै चल्न नसक्दा आयोजकले गोल गर्ने अवसर गुमायो । खेलको १०औँ मिनेटमा कुसुमको क्रस दमककी गोलरक्षक क्षेत्री बचाइन् । त्यस्तै, खेलको १५ औँ मिनेटमा दमककी पार्वती राईको प्रहार बिर्तामोडकी गोलरक्षक झरना नगरकोटीले बचाइन्।
३९औँ मिनेटमा दमककी ममता राउतको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो । खेलको प्लेयर अफ द म्याच दमककी गोलरक्षक क्षेत्री भइन् । उनलाई ओयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे । दोस्रो संस्करणको
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।