काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा हिमालयनले च्यासल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
हिमालयनको जितमा मुटम्बा पिस्टनले दुई गोल गरे । सुरेश कुमालको नाममा एक गोल रह्यो ।
च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको २५ औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । कमल थापाको लामो पासमा च्यासलका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले सहजै गोल गरे ।
खेलको ५७ औं मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए ।
त्रिदेब गुरुङको कडा प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले आफ्नो कब्जामा लिन नसक्दा आएको रिबाउन्डमा मुटम्बाले पोस्टको जाली चुमाएका हुन् ।
७६ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई २-१ को स्थितिमा ल्याए । पेनाल्टी एरियाभित्र राजिब लोप्चनले उपलब्ध गराएको पासमा अनमार्क रहेका रुमेशले गोल गरेका हुन् ।
तर, खेलको ८० औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३-१ को जित दिलाए । उनले मनिष थापाको पासलाई सदुपयोग गरे ।
यस जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । र, हिमालयन छैटौं स्थानमा उक्लिएको छ ।
च्यासलले ६ खेलमा ४ अंक जोडेको छ । च्यासल अंक तालिकाको १३ औं स्थानमा रहेको छ ।
खेलमा हिमालयनका मुटम्बा म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयरको अवार्ड च्यासलका राजिब लोप्चनले प्राप्त गरे ।