काठमाडौं । अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच शनिबार दशरथ रंगशालामा दोस्रो खेल हुनेछ ।
यो सहिद स्मारक लिग ए डिभिजन ०७८ को सर्वाधिक महत्त्वको खेल रहेको छ र यसले नै अबको एएफसी कप छनोट कसले खेल्ने हो, सम्भवत: त्यसको निर्णय गर्न सक्नेछ ।
कीर्तिमान आठ पल्टको लिग विजेता मनाङले ०४३ देखि ए डिभिजन खेल्न थालेको हो भने मछिन्द्रले ०६२ बाट ।
अहिलेसम्म यी दुई टिमबीच माथिल्लो डिभिजनमा १२ खेल खेलेका छन् । त्यसमा मनाङ सात पल्ट विजयी रहेको छ भने तीन खेल बराबरीमा टुंगेको छ । यस्तै मछिन्द्र दुई खेलमा मात्र विजयी रहेको छ ।
वर्ष ०७६ को पछिल्लो लिगमा यी दुई टिमबीचको खेल २–२ को बराबरीमा टुंगेको थियो । त्यसमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले गोल गरे । मछिन्द्रका तर्फबाट सुजल श्रेष्ठ र सिमोदी ओलुवाउन्मीले गोल गरे ।
वर्ष ०७५ र ०७० मा मछिन्द्र समान १–० ले विजयी रह्यो ।