काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । आज च्यासललाई हराएर हिमालयन अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
च्यासल ५ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयनलाई हराएर च्यासल रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मनाङ र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ । यस खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मछिन्द्रलाई हराएर शीर्ष स्थान कायम राख्न चाहन्छ । मनाङ ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
मछिन्द्र ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा छ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।