नारायण क्षेत्री
पोखरा । तेस्रो लोक कवि अलिमियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आगामी माघमा आयोजना हुने भएको छ ।
नेपाल मुस्लिम युवा समिति कुँडहरको आयोजनामा माघ ८ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
पोखरा–१३ माछापोखरी खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजार प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्कोरर र स्ट्राइकरलाई जनही ५ हजार प्रदान गरिने समिति उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अब्बु बकर मियाँले बताए । सेमिफाइनल पुग्ने बाँकी २ टिमलाई प्रतिटिम १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा ४८ टिमको सहभागिता रहने छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ७५ हजार खर्च लाग्ने आयोजकको भनाई छ । प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि तारा फुटबल क्लब लेकसाइडले जितेको थियो ।
प्रतियोगितालाई सफल पार्न विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको समिति अध्यक्ष अब्बास अलि मियाँले बताए । लोककवि अलिमियाँका नाति हिक्मत अलि मियाँले प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।
प्रथम पुरस्कारको प्रायोजन समिर खानले गरेका छन् । त्यस्तै द्धितिय पुरस्कारको प्रायोजन वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले गरेका छन् । टिम दर्ताका लागि प्रतिटिम ७ हजार शुल्क निर्धारण गरिएको संयोजक मियाँले बताए ।