काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको हो ।
खेलको २९ औं मिनेटमा तेज तामाङको फ्रि-किकमा पुलिसका मान बहादुर परियारको हेडर बलमा पोस्ट नजिकैबाट सुमन लामाको प्रहार बार नजिकैबाट बाहिरियो ।
४५ औं मिनेटमा पुलिसका मानबहादुर परियारको लामो पासमा रवि पासवानको हाफ भली बारमा लाग्दै फर्किदा अग्रता बनाउन चुकेको थियो ।
खेलको ५८ औं मिनेटमा बक्स भित्रबाट फ्रेन्ड्सका जामोउल एन्थोनिको प्रहार क्रस बार माथिबाट बाहिरिएको थियो ।
६२ औं मिनेटमा फ्रेन्डसका एन्थोनिकै प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले पन्च गर्दै बचाए ।
खेलको ७९ औं मिनेटमा पुलिसका भोलानाथ सिलवालको पासमा बकस भित्रबाट सुमनको प्रहार पोस्ट माथिबाट बाहिरियो ।
८१ औं मिनेटमा सुमन लामाको कर्नरमा भोलानाथको हेडर फ्रेन्ड्सका गोलरक्षक देव लिम्बुले खुट्टाले बचाए । सोही बलमा फ्रेन्ड्सका डिफेन्डरले क्लियर गर्दै दिएको लामो पासमा एन्थोनिले वान भर्सेज वानमा पुलिसका गोलकिपर शत्रुधनलाई जित्न सकेनन् । शत्रुधनले बक्स बाहिर आएर बल क्लियर गरे ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा तपन कार्कीको पासमा एन्थोनिको प्रहार शत्रुधनले बचाउन खोज्दा हातबाट निस्केको बललाई डिफेन्डर सन्तोष हेम्रनले क्लियर गरे ।
यस बराबरीसँगै पुलिसले ६ खेलमा ६ अंक जोडेको छ । पुलिस आठौं स्थानमा रहेको छ।
फ्रेन्ड्सले ६ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स अंक तालिकाको पुछारमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच पुलिसका तेज तामाङ चुनिए ।
इमर्जिङ प्लेयर फ्रेन्ड्सका अशिम भुसाल चुनिए ।