काठमाडौं । न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार एपीएफ क्लबसँग बराबरी खेल्दै अंक बाड्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा एनआरटीले एपीएफसँग ३-३ गोलको बराबरी खेल्नु परेको हो ।
एपीएफसँग बराबरीमा रोकिएपछि एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भाग्यले साथ नदिएको प्रतिक्रिया दिए ।
'आज हाम्रो ब्याड लक भन्नुपर्यो । ३-१ हुँदा पनि जित्न सकेनौं । एकै पटक २ गोल खान पुग्यौं । बिक्रम धिमाल बाहिर आउने बित्तिकै बल चलाउन पायो र गोल गर्यो । तेस्रो गोल पनि नविन लामालाई अन मार्क राखेको थियो,' खेलपछि शाक्यले भने, 'दोस्रो गोलमा पनि हाम्रो डिफेन्सले गल्ती गर्यो र हामी गोल खान पुग्यौ । त्यो खेलाडीले पनि महसुश गरेका छन् ।'
एपीएफका मुख्य प्रशिक्षक कुमार थापाले जित्नैपर्ने खेलमा असफल भएको बताए ।
'जित्नै पर्ने थियो । तर जित्न सकेनौं । दुई गोलले पछि परेको अवस्थामा हामीले गोल त फर्कायौ,' उनले भने ।
यस्तै थापाले रेफ्रीको आलोचना समेत गरे ।
'हामीले दुई पेनाल्टी पाउनु पर्ने थियो । त्यो पाएनौ । म रेफ्रीलाई सिकाउन चाहन्न तर निर्णय सहि हुनु पर्ने हो भएन । म रेफ्रीको निर्णयमा दुखी छु,' उनले थपे ।