काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेलेको हो ।
रोमान्चक बनेको खेलमा सुरुआती अग्रता एनआरटीले बनाएको थियो ।
खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । उनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत गोल गरेका हुन् ।
तर, खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काए । प्रदिप लामाको क्रसमा एनआरटीका डिफेन्डरको गल्तिको फाईदा उठाउदै आशिषले हेडमार्फत गोल गरेका हुन् ।
दोस्रो हाफमा दुबै टोलीले थप दुई दुई गोल गरे ।
४८ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । रन्जन विष्टले पेनाल्टी एरियाको बाहिरबाट उपलब्ध गराएको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।
खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३-१ ले अघि रह्यो । अशोक थापाको पासलाई स्टेफेन बिनोङको वान टच पासमा मेसुकेले वान भर्सेज वानमा गोल गरे ।
तर, ६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । नविन लामाको फ्री-किकमा दिपेशले उत्कृष्ट हेडर गोल गरे ।
त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याउदै एपीएफलाई हारबाट जोगाए । आशिष लामाको जिरो एङ्गलको पासमा अन मार्क रहेका नविनले सहजै गोल गरे ।
यस बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ ।
एपीएफ ११ औं स्थानमा रहेको छ ।
एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ ।
एनआरटी छैटौं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच एनआरटीका दर्शन गुरुङ चुनिए ।
एपीएफका दिपेश धिमाल इमर्जिङ प्लेयर चुनिए ।