काठमाडौं । डिएगो सिमोनीले स्पेनी ला लिगा क्लब एटलेटिको म्याड्रिडको प्रशिक्षक पद सम्हालेको बिहीबार १० वर्ष पुगेको छ ।
विश्व क्लब फुटबलमा कोही प्रशिक्षक १० वर्ष टिक्छ भने त्यो आफैमा अद्धितीय उपलब्धी हुन्छ । अझ त्यसलाई दुर्लभ उपलब्धी भने हुन्छ । प्रशिक्षकलाई लिएर प्राय: भन्ने गरिन्छ, प्रशिक्षकलाई नियुक्त गर्ने नै बर्खास्तीका लागि हो ।
यस्तो सिमोनी एटलेटिको जस्तो उतारचढावबाट गुज्रिरहने क्लबमा १० वर्ष रहनु वास्तवमै ऐतिहासिक हो । कुनै पनि क्लबमा १० वर्ष टिकेका प्रशिक्षकको सूची बनाउने हो भने त्यो निकै गाह्रो छ, यस्तोमा सिमोनीलाई आफैलाई पनि यस उपलब्धीमा गर्व हुनु पर्ने हो ।

सन् २०११ मा उनी एटलेटिको आएका थिए र त्यसयता निरन्तर क्लबमा आवद्ध छन् ।
त्यस अगाडि एटलेटिकोका मालिक जेसस गिलले १६ वर्ष भित्र ३७ प्रशिक्षकलाई नियुक्त गर्दै बर्खास्त गरेका थिए ।
यसले पनि देखाउँछ, यी अर्जेन्टिनी प्रशिक्षक सिमोनी आउन अगाडि एटलेटिको कस्तो समयबाट गुज्रिरहेको थियो होला । सिमोनी आएपछि भने स्पेनी फुटबलकै महाशक्ति मानिएका एटलेटिको फेरि ब्युझिएर राम्रो खेल्न थालेको थियो ।
यसबीच क्लबले रियल म्याड्रिड र बार्सिलोना जस्ता टिमलाई मज्जाले चुनौती दिएको थियो । सिमोनी आएयता एटलेटिकोले दुई लिग उपाधि, दुई युरोपा लिग र एक कोपा डेल रे जितेको छ ।
यस्तै एटलेटिकोले दुई पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेलेको छ । दुवै अवसरमा एटलेटिको पराजित भने रह्यो ।
–एएफपीको सहयोगमा ।