काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का समर्थकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए, कहिले सर्जियो रामोसले राम्रोसँग नियमित खेल्नेछ भनेर ।
तर यी भेट्रान खेलाडीले त्यस्तो केही गर्न सकेका छैनन् र यसको मुख्य कारण त चोट नै हो । सायद यो सिजनको उनले पीएसजीका लागि खेल्ने भनेको कम नै हुन सक्छ ।
बुधबार मात्रै उनले पीएसजीका लागि खेले र यो फ्रान्सेली लिग वानमा उनको दोस्रो खेल मात्र थियो । त्यसमा पनि उनी रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । त्यस खेलमा पीएसजीले लोरेन्टसविरुद्ध १–१ को बराबरी खेल्यो । दोस्रो हाफमा मैदान छिरेका रामोसले क्षण भरमै दुई पहेँलो कार्ड खाए ।

उनको खेल जीवनको यो २७ औं रातो कार्ड हो । एक प्रकारले भन्दा उनी रातो कार्ड खानमा माहिर छन् । उनले स्पेनी ला लिगामा २० र युरोपेली च्याम्पियन्स लिगमा पाँच रातो कार्ड खाएका छन् ।
बुधबारको खेलपछि भने उनको पीएसजीमा रिपोर्ट कार्ड यस्तो बनेको छ, १ सय ३० मिनेटको खेल र एक रातो कार्ड ।
–मार्काको सहयोगमा ।