काठमाडौं । मछिन्द्र अहिले आफ्नो क्लब इतिहासमै सबैभन्दा लयबाट गुज्रिरहेको छ ।
मछिन्द्र सहिद स्मारक लिग ए डिभिजन ०७८ का सुरुआती चार खेलमा अपराजित छ र समग्रमा उसको अपराजित यात्रा १० खेल पुगिसकेको छ ।
त्यसमध्ये मछिन्द्र नौ खेलमा विजयी रहेको छ । उसको अन्तिम हार वर्ष ०७६ मा हिमालयन शेर्पाविरुद्ध थियो।
त्यसमाथि मछिन्द्र डिफेन्डिङ च्याम्पियन मात्र होइन्, चौथो चरणको समाप्तीमा शीर्ष स्थानमा रहेको टिम पनि हो । जति बेला अर्को लयमा रहेको टिम संकटाले मछिन्द्रको सामना गर्नेछ, उसको प्रयास आफ्नो विपक्षीलाई रोक्ने नै हुनेछ ।
संकटा आफै पनि अहिलेको लिगमा अपराजित छ र टिम समग्रमा पछिल्ला पाँच खेलमा अपराजित छ ।
संकटा वर्ष ०६९ देखि फेरि माथिल्लो डिभिजनमा उक्लेको थियो र त्यसयता दुई टिमबीच पाँच खेल भएका छन् । यसमा मछिन्द्र संकटामाथि हाबी छ ।
यी पाँच खेलमध्ये तीनमा मछिन्द्र विजयी रहेको छ भने एकमा संकटा । एक बराबरीमा टुंगेको छ । संकटा उक्लिएको वर्ष ०६९ मा मछिन्द्र २–० ले विजयी रह्यो ।
वर्ष ०७० मा यी दुई टिमबीच दुई खेल भएकोमा पहिलो गोलरहित बराबरीमा टुंगियो भने दोस्रोमा मछिन्द्र १–० ले विजयी रह्यो । वर्ष ०७५ मा संकटा २–० ले विजयी रह्यो र त्यस लिगमा मछिन्द्रले आफ्नो इतिहासकै सबैभन्दा खराब प्रदर्शन गरेको थियो ।
वर्ष ०७६ को पछिल्लो लिगमा भने उपाधि जित्ने क्रममा १२ औं चरणको खेलमा मछिन्द्र संकटामाथि ३–१ ले विजयी रह्यो ।