काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत पाँचौं चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज शुक्रबार पाँचौं चरणका सुरुआती दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आर्मीविरुद्ध मैदान उत्रदा सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ । सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।
सातदोबाटो आर्मीलाई हराएर शीर्ष दुईको टोलीसँग अंक बराबरी गर्न चाहन्छ । तर, आर्मीलाई हराउँन सातदोबाटोलाई सहज भने छैन ।
आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । लिगमा आर्मी अपराजित रहेको छ ।
लिग अन्तर्गत नै दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । संकटा मछिन्द्रलाई हराएर उपाधि दाबेदार कायम राख्न चाहन्छ ।
यता, मछिन्द्र भने १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटालाई हराएर मछिन्द्र शीर्ष स्थान कायम राख्न चाहन्छ । लिगमा मछिन्द्र अपराजित रहेको छ ।