काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेल भुटानविरुद्ध शुक्रबार खेल्दैछ ।
नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।
भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ ।
फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।
पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
आयोजक बंगलादेशले र नेपालले समान दुई खेल खेल्दा चार–चार अंक जोडेका छन् ।
यता भुटानले तीन खेलबाट ३ अंक जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ ।
लगातार तीन खेलमा पराजय भोगेको श्रीलंका भने फाइनल दौडबाट बाहिरिसकेको छ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।
यता भुटानले भने पहिलो खेलमा श्रीलंकलाई ५–० ले पराजित गरेपनि दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो ।
भुटानले तेस्रो खेलमा भारतसँग ३–० पराजय भोगेको थियो ।
नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ ।