काठमाडौं । स्पेनिस क्लबहरु रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको विलवाओले ला लिगाविरुद्ध कानूनी प्रक्रिया अघि बढाएका छन् ।
ला लिगाले १.७ विलियन पाउण्ड लगानी गर्ने निर्णय गरेपछि तीन क्लबले कानूनी प्रक्रिया अघि बढाएका हुन् ।
ला लिगा र निजी इक्वीटी फन्ड सिभिसी क्यापिटल पार्टनरबीच लगानीका लागि गत हप्ता सम्झौता भएको थियो ।
एक संयुक्त विज्ञप्तिमार्फत क्लबहरुले उक्त सम्झौतालाई गैरकानूनी लेनदेन बताउदै यसले स्पेनको फुटबललाई अपूरणीय क्षति निम्त्याउने जनाएका छन् ।
रियल मड्रिडले उक्त सम्झौताले स्पष्ट रुपमा स्पेनको खेलकुद कानूनको सबैभन्दा प्राथमिक सिद्धान्तहरुको उल्लंघन गरेको जनाएको छ ।
सिभिसीसँगको सम्झौता युरोपियन मुख्य लिगमा निजी इक्विटी फर्मसँग भएको पहिलो सम्झौता रहेको छ ।
गत शुक्रबार स्पेनका शीर्ष दुई लिगका ४२ मध्ये ३७ क्लबहरुले ला लिगाले गरेको सम्झौताको पक्षमा मतदान गरेका थिए ।
सम्झौता अनुसार ला लिगाले सिभिसीको नयाँ कम्पनीमा ८.२ प्रतिशत शेयर खरिद गर्नेछ ।
ला लिगाका अध्यक्ष जाभियर टेवासले यो ला लिगा र यसका क्लबहरुको इतिहासकै नयाँ कोशेढुंगा भएको बताएका छन् ।
सम्झौतामा हस्ताक्षर गरेका क्लबहरुले लगानीको ७० प्रनिशत नयाँ पूर्वाधार र आधुनिकीकरण परियोजना खर्च गर्न सहमत भएका छन् । त्यसैगरी, १५ प्रतिशत खेलाडीलाई भित्र्याउन तथा बाँकी १५ प्रतिशत ऋण तिर्नका लागि घटाइने छ ।