नारायण क्षेत्री
पोखरा । काठमाडौंमा मात्रै सिमित हुँदै आएको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल पहिलो पटक पोखरामा आयोजना हुँदैछ ।
लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर लिग खेल आयोजना हुन लागेको हो ।
जारी लिगको पाँचौं चरण अन्तर्गत पुस ३ गते पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने छ । जुन खेल उपत्यका बाहिरको पहिलो लिग खेल हुनेछ ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजनको ३ खेल पोखरामा खेल्नेछ ।

मनाङले सताउन चरणमा बिग्रेड ब्वाइज क्लबसँग पुस १७ र आठौं चरण अन्तर्गत पुस २४ गते च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ४ खेलमा १० अंक जोडदै मनाङ खेल तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस खेलका लागि मनाङ र पुलिसको टिम बुधबार नै पोखरा आइसकेका छन् । यस खेलका लागि १ सय र ३ सयको टिकटदर निर्धारण गरिएको छ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्देशक सञ्जिब मिश्रले नयाँ प्रयोगका रुपमा लिगलाई काठमाडौं बाहिर ल्याएको बताए ।
मेची देखि महाकाली सम्म रहेका उपयुक्त रंगशालामा लिगलाई लैजान सके दर्शकहरुले पनि अपनत्व ग्रहण गर्ने उनको भनाई छ ।
विगतको तुलनामा यसपटक काठमाडौंको लिगमा दर्शक सहभागिता उल्लेख्य रहेको बताउदै पोखरापनि खेलकुदको हब भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहनेमा उनले विश्वास व्यक्त गरे ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले लिग पोखरामा आउनु पोखरेली खेलप्रेमीहरुका लागि सुखद पक्ष रहेको बताए ।