काठमाडौं । लामो इतिहास बोकेको जावलाखेल अहिले विना कुनै अंक लिग तालिकाको पुछारमा छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा जावलाखेल अहिलेसम्म खेलेका सबै तीन खेलमा तीनैमा पराजित रहेको छ र रेलिगेसनको डरबाट गुज्रिन थालिसकेको छ ।
यही जावलाखेलले सोमबार ललितपर डर्बीमा बीबीसीको सामना गर्दा त्यसलाई अवसरका रूपमा उपयोग गर्न सक्छ । वर्ष ०६८ यताका लिगमा यी दुई टिमबीच तीन भेट भएको छ र यी तीनै खेलमा जावलाखेल विजयी रहेको छ ।
त्यति मात्र होइन, यी तीनै खेलमा जावलाखेलले क्लिन सिट राखेको छ । त्यसैले प्रशिक्षक किशोर केसीको नेतृत्वमा रहेको जावलाखेललाई आजको खेल अगाडि आत्मविश्वासी हुने अवसर हुनेछ ।
जावलाखेलले बीबीसीलाई वर्ष ०७६ मा १–०, वर्ष ०७५ मा १–० र वर्ष ०६८ मा २–० ले हराएको थियो ।
फेरि अहिले तत्कालको स्थिति भने बीबीसीको पक्षमा छ । जहाँ जावलाखेल शून्य अंकको स्थितिमा छ, त्यहीं बीबीसी भने चार अंक कमाएर नवौं स्थानमा छ ।