काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेको हो ।
यस बराबरीसँगै एपीएफले लिगमा पहिलो अंक जोडेको छ । अघिल्ला तीन खेलमा एपीएफले लगातार हार व्यहोरेको थियो ।
खेल अवधिभर थ्री स्टारविरुद्ध एपीएफ हाबी भएको थियो । तर, पटक पटकको आक्रमणलाई एपीएफले गोलमा परिणत गर्न सकेन ।
खेलको १२ औं मिनेटमा एपीएफका प्रदिप लामाले पेनाल्टी एरियाको ठिक बाहिरबाट गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै बचाए ।
त्यसको एक मिनेटपछि एपीएफका कप्तान नविन लामाको प्रहार पनि प्रिसोले बचाए ।

पहिलो हाफको इन्जुरी समयमा कप्तान बिक्रम लामाको फ्री-किकमा अनमार्क रहेका अनन्त तामाङले सिक्स यार्ड बक्सबाट पहिलो बार च्यापेर प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ४९ औं मिनेटमा एपीएफका कप्तान नविनको फ्रि-किकमा सिक्स यार्ड बक्स भित्रबाट आशिष लामाले बाहिर प्रहार गरे ।
एपीएफले ८१ औं मिनेटमा गोलको सुन्दर अवसर गुमायो । प्रदिप लामाको क्रसमा सिक्स यार्ड बक्स भित्र रहेका आशिषको हेडर पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
खेलको ८९ औं मिनेटमा पेनाल्टी एरियाको बाहिरबाट एपीएफका आशिषको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले मुश्किलले बचाए ।
यस बराबरीसँगै एपीएफले भने ४ खेलमा १ अंक जोडेको छ । पहिलो अंक जोडेको एपीएफ १३ औं स्थानमा उक्लिएको छ ।
एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।

थ्री स्टारले ४ खेल ५ अंक जोडेको छ । थ्री स्टार पाँचौं स्थानमा उक्लिएको छ ।
थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
एपीएफका प्रदिप लामा म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयर एपीएफका बिके तामाङ घोषित भए ।