काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा शनिबार हिमालयन शेर्पा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे ।
जितसँगै मछिन्द्र शीर्ष स्थानमा समेत उक्लिएको छ । मछिन्द्रले ४ खेलमा १० अंक जोडेको छ ।
हिमालयनविरुद्धको जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवाल खुशी देखिए ।
'राम्रो टिमविरुद्ध जित्दा खुशी छु । शेर्पाले राम्रो खेलेको थियो । हामीले शेर्पालाई नराम्रो आकेको थिएनौ,' उनले भने, ' तीन गोलले जित्न पुग्यौं । खुशी छौँ ।'
यस हारपछि हिमालयनले ४ खेलमा २ अंक जोडेको छ । हिमालयन १२ औं स्थानमा रहेको छ ।
हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राईले योजना अनुसार खेलेपनि गोल निकाल्न नसकेको बताए ।
'पछिल्लो खेलमा जति खुशी थिए आज छैन । जित्नका लागि खेलमा गोल हुनु पर्छ । त्यो छैन । सुरुआतमै दुई गोल खायौ । पछि पर्यौ,' उनले भने, 'योजना अनुसार खेल्यौ तर गोल हुन नसक्दा हार्न पुग्यौं ।'