काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे ।
जितपछि पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापाले समयमै गोल निस्कदा जित निस्किएको बताए । उनले विदेशी खेलाडी पाएमा पुलिसको टिम उत्कृष्ट हुने समेत बताए ।
'लिगमा सबै उस्तै टिम छन् । आजको खेल पनि ठिकै भयो । सुमनले समयमै स्कोर गर्यो,' थापाले भने, 'यसपटक पुलिसका लागि सबै क्लब बाधक बनेका छन् । सबै टिम राम्रो बनेका छन् । विदेशी खेलाडी पाए हामीपनि लिगको उत्कृष्ट टिम बन्ने छौँ ।'
यस्तै जावलाखेलका मुख्य प्रशिक्षक किशोर केसीले पुलिसले सरप्राइज गोल गरेको बताए ।
'पुलिसले सरप्राइज गोल निकाल्न पुग्यो । भाग्यले साथ दिइरहेको छैन । बारमै लागेर दुई बल फर्कियो,' उनले भने, 'पूजा नै गर्नु पर्ने हो की क्या हो ।'