काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ।
तर, साफ च्याम्पियनसिप नेपालमा प्रत्यक्ष प्रशारण नहुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपालमा साफको प्रत्यक्ष प्रशारण नहुने जनाएको छ ।
प्रत्यक्ष प्रशारणको अधिकारका लागि एन्फाले प्रस्ताव पेश गर्न सार्वजनिक सूचना निकालेको थियो । जसका लागि एन्फाले न्यूनतम ४० लाख रुपैयाँ मूल्य तोकेको थियो । तर, कुनैपनि टेलिभिजन मिडियाले प्रत्यक्ष प्रशारण अधिकारका लागि प्रस्ताव नगरेको जनाएको छ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।
१३ औं साफको पहिलो दिन शुक्रबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्।
दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ।