काठमाडौं । साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मैदानमा नतिजाका लागि लड्ने बताएका छन् ।
मालेमा बिहीबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन् ।
नेपालले भोलि शुक्रबार आयोजक माल्दिभ्सविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
'पक्कै पनि उनीहरुलाई घरेलु मैदानको फाईदा हुनेछ । घरेलु समर्थक हुनेछ । तर, यसले फरक पार्दैन । हामी गोर्खाली हौँ । हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसंग डराउने छैनौँ,' कप्तान किरणले भने, 'होम र अवेले फरक पार्दैन । हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं । हामी मैदानमा नतिजाका लागि लड्ने छौँ ।'
कप्तान किरणले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र नतिजाका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताए ।
'सबै खेल कठिन छ । तर, हामी फाइट गर्ने छौँ । हामीसँग युवा र अनुभवी गरि राम्रो मिश्रित टिम छ,' उनले भने, 'हामी फाइनल पुग्न चाहान्छौ । जसका लागि हरेक खेल जित्नु पर्छ ।'
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा रहेको नेपालले साफको उपाधि जित्ने लक्ष्य बनाएको छ। नेपालले अहिलेसम्म साफको उपाधि जित्न सकेको छैन । साफको फाइनल समेत खेलेको छैन ।
माल्दिभ्स जानु अघि नेपाली टिमले कतारमा विशेष तयारी गरेको थियो । नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।