काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगर प्रशिक्षणमा फर्किएका छन् ।
घुँडाको चोटबाट मुक्त हुँदै विमल प्रशिक्षणमा फर्किएका हुन् ।
कतारबाट फर्किएपछि विमलले यू-२३ टोलीसँग प्रशिक्षण सुरु गरेका छन् ।
उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण गरिरहेको छ ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा जारी प्रशिक्षणमा विमल सामेल भएका हुन् ।
राष्ट्रिय टिमको प्रशिक्षण दौरान विमलले चोट बोकेका थिए । उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको थियो ।
त्यसपछि उनको गत मार्चमा शल्यक्रिया गरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा विमलले कतारको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेका थिए ।
एन्फाको अनुशासनको कारबाहीमा परेपछि विमलले लामो समयबाट राष्ट्रिय टिमबाट खेलेका छैनन् ।
एन्फाको कारबाही फुकुवापछि उनी राष्ट्रियमा फर्किएका थिए । तर, चोटको कारण उनी टिम बाहिर रहदै आएका छन् ।
विमलले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप समेत गुमाउने छन् । साफ शुक्रबारबाट सुरु हुँदैछ ।