काठमाडौं । ललितपुरे 'ए' डिभिजन क्लब च्यासल युथ क्लबलाई खेलकुद सामाग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गरेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिगको तयारीमा रहेको च्यासललाई युक्यानले प्रायोजन गरेको हो ।
चिनियाँ ब्राण्ड युक्यानले मंगलबार च्यासललाई एक वर्षको लागि प्रायोजन गरेको हो ।
च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै युक्यान च्यासलको किट्स पार्टनरको रुपमा रहनेछ ।
आगामी 'ए' डिभिजन लिगमा च्यासलले युक्यानको जर्सी लगाउने छ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।

सम्झौतापछि बोल्दै युक्यानका महर्जनले फुटबललाई माया गर्ने भएको कारण प्रायोजन गरिएको बताए ।
'अरू ब्राण्ड भएपनि फुटबलकै ब्राण्ड लिएर क्लबसँग काम गर्न खोजेको छु । पछिल्लो समय फुटबलले गति लिएको ठानेको छु,' उनले भने, 'फुटबललाई माया गर्छु । त्यसैले प्रायोजन गर्छु । आउने लिगले खेलाडीलाई प्रेरणा दिओस ।'
यस अघि युक्यानले अर्को ए डिभिजन क्लब फ्रेन्ड्स क्लब कुपन्डोललाई प्रायोजन गरेको थियो ।
