काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक 'ए' डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।
ललितपुरे 'ए' डिभिजन क्लब च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानी विराजलाई दिईएको जनाएको छ ।
च्यासलले नयाँ सिजनको लिगका लागि विराजलाई अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
अघिल्लो पटकको लिग विराजले मछिन्द्र क्लबबाट खेलेका थिए । मछिन्द्र साविक विजेता समेत हो ।
अनुभवी डिफेन्डर विराजले यस अघि एनआरटी, थ्री स्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।
विराजको कप्तानीमा मनाङ र मछिन्द्रले ए लिग जितेको थियो । उनले थ्री स्टारबाट समेत ए लिगको उपाधि जितेका थिए ।
विराजले क्लबको भिजन मन परेको कारण च्यासल आएको र क्लबलाई राम्रो स्थानमा पुर्याउने बाचा गरे ।
'फुटबल खेल्ने वातावरण भएका कारणले आएको हु । भिजन मन परेर आएको छु । प्रशिक्षको योजनाबाट प्रभावित भएर क्लबलाई सहयोग गर्न आएको हुँ । क्लबलाई राम्रो स्थानमा पुर्याउने प्रण गर्दछु,' विराजले पत्रकार सम्मेलनमा भने ।
विराजले गत चैतमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए ।
नेपालमा आयोजना भएको थ्री नेसन्स कप फुटबलपछि उनले सन्यास घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि नेपालले जितेको थियो ।
३० वर्षीय विराजले नेपालका लागि ७३ खेल खेल्दै १ गोल गरेका छन् । उनी नेपालका लागि सर्वाधिक धेरै खेल खेल्ने दोस्रो खेलाडी हुन् ।
लेफ्ट ब्याक विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।
विराजको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र भारतको गोवामा भएको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेको थियो ।
यस्तै च्यासलले स्कटल्याण्डका ली मान्सनलाई प्राविधिक निर्देशक नियुक्त गरेको छ । उनले पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रुपमा काम गरेका थिए ।