काठमाडौं । साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ ।
कतारमा विशेष तयारी गरेर नेपाली टोली सोमबार माल्दिभ्स पुगेको हो ।
नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो ।
कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको थियो।

साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।
नेपालले अहिलेसम्म साफको फाइनल खेलेको छैन ।
Photo - Adhadhu Sports