काठमाडौं । जोसे मोउरिन्होको त्यस्तो एउटा बानी छ, जुन कहिले पनि सुध्रिन्न होला । फुटबलमा हार त हुन्छ नै, तर यी पोर्चुगाली प्रशिक्षकलाई यो कहिले पनि स्विकार्य हुन्न ।
बरू उनको काम हुने गर्छ, यो हारको जिम्मा अरूलाई नै दिने । इटालीको सिरी ए मा मोउरिन्होको रोमा आइतबार लाजियोसँग पराजित रह्यो ।
स्टोडियो ओलम्पिकोमा भएको रोम डर्बीमा रोमा ३–२ ले हारेको थियो । खेल लगतै मोउरिन्होले भनिहाले, एउटा निकै सुन्दर खेल रेफ्रीको खराब निर्णयका कारण बरबाद भयो । यो त उनको पुरानै विलाप मात्र भयो ।

मोउरिन्हो आएयता रोमाले ठोस सुरुआत लिंदै एक समय सुरुआती चार खेल जितेको थियो ।
तर अहिले यही टिमको प्रदर्शन फिस्स हुन थालेको छ । मोउरिन्होलाई अहिलेको हार चखाउने एक खेलाडी पेड्रो पनि रहे । मोउरिन्हो चेल्सीमा छँदा उनले पनि यही लन्डन क्लबबाट खेलेका थिए ।
त्यति बेला प्रशिक्षक र खेलाडीको सम्बन्ध निकै खराब थियो । पेड्रो भन्थे, मोउरिन्होका क्रियाकलापले चेल्सी टिमभित्र खालि तनाब मात्र हुन्थ्यो ।
अनि मोउरिन्हो हारपछि त्यसको दोष खालि अरूलाई मात्र दिन्थे । यसपल्ट पनि उनले लाजियोको जितमा बधाइ समेत भन्न चाहेनन् । उल्टै भने, ‘खेल हाम्रै नियन्त्रणमा थियो, हामीले लाजियोलाई समस्यामा पारिरह्यौं । खेलको अन्त्यतिर भने लजियो बलियो देखियो, किनभने रेफ्री यस्तै चाहन्थ्यो, लाजियोले खेल जितोस ।’
यी पोर्चुगाली प्रशिक्षक साँच्चै कहिल्यै सुध्रिने छैनन् ।
–मिररको सहयोगमा ।