काठमाडौं । राम्रा खेलाडी राम्रा प्रशिक्षक बनेका उदाहरण कमै छन्, बरू खराब खेलाडी राम्रा प्रशिक्षक बनेको उदाहरण धेरै छन् । खराब कवि राम्रा समालोचक हुन्छ भने जस्तै हो ।
भर्खर युरोपेली फुटबल महासंघले चेल्सीका टोमस टुचेललाई वर्षको प्रशिक्षक अवार्ड प्रदान गरेको छ । गत वर्ष चेल्सीले उनकै नेतृत्वमा युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।
त्यसैले पनि उनी यो उपाधिका पूर्ण हकदार थिए । यही सेरोफेरोमा उनले आफू खेलाडी छँदा कस्ता थिए भनेर त्यसबारे खुलासा गरेका छन् र यो कथामा बढी हाँसो नै छ । खेल्न त टुचेलले जर्मन यू–१८ का लागि पनि खेले । व्यवसायिक खेलाडीका रूपमा उनको अनुभव भनेको तेस्रो डिभिजनको एसएसभी उल्मका लागि केही मात्र थियो ।

तर चोटका कारण उनी चाँडै सन्यास लिन बाध्य रहे । टुचेलसँगै खेलेका खेलाडी उनीबारे भन्ने गर्छ, यी खेलाडीलाई ट्याकल गर्न आउँदैन थियो । उनी निकै सुस्त थिए, खेल्दा जाँगर ठ्याक्कै हुँदैन थियो ।
विपक्षी टिमका खेलाडीविरुद्ध वान टु वानको स्थितिमा आत्तिहाल्थे । फुटबलमा खेलाडी हुन चाहिने मुख्य मुख्य गुण बाहेक सबै टुचेलमा थियो ।
टुचेल आफै भन्छन्, ‘मेरो खेल जीवन सुरु पनि भएको थिएन्, सकिहाल्यो ।’ आफ्नो खेल जीवनबारे कुरा गर्दा उनकै अनुहारमा पनि हाँसोको फाहोरा छुट्ने गर्छ । चोट लागेर खेल जीवनलाई निरन्तरता दिन नसकेपछि उनले अर्कै पेसातर्फ नजर लगाइसकेका थिए, त्यसैले २४ वर्षको उमेरमा उनी रेस्टुरेन्टका टेबल मिलाउने काम गर्थे ।
तर यिनै टुचेलले प्रशिक्षक बन्ने निर्णय गरे र सबैले भन्ने गरे जस्तै, त्यसपछिको कथा त इतिहास भइसकेको छ ।

–डेली मेलको सहयोगमा ।