काठमाडौं । कोही कोही खेलाडी कुनै प्रतिद्वन्द्वी टिमका लागि साह्रै दु:ख दिने दिने खालका हुने गर्छन् । दु:ख कस्तो भन्दा उसका विरुद्ध लगातार गोल गर्ने ।
लिभरपुलका साडियो माने यस्तै खेलाडी हुन्, क्रिस्टल प्यालेसका लागि । शनिबार राति लिभरपुलले प्यालेसलाई इंग्लिस प्रिमियर लिगमा ३–० ले हरायो र त्यसमा पहिलो गोल यिनै मानेको नाममा थियो ।
यसैक्रममा सेनेगली खेलाडीले लिभरपुलका लागि आफ्नो सयौं गोल पनि पूरा गरे । यो पनि आफैमा कीर्तिमान हो, तर धेरैले चासो लगाएको कीर्तिमान भने अर्कै छ र यो हो, प्यालेसविरुद्ध उनको लगातार गोल । एनफिल्डमा भएको हिजोको खेलसँगै उनले प्यालेसविरुद्ध पछिल्ला नौ खेलमा गोल गरेका छन् ।
यस्ता कीर्तिमान विरलै बन्छन् र यी वास्तवमै अनौठो प्रकारका हुन्छन् । यसअघि यस्तै कीर्तिमान रोबिन भान पर्सिको थियो । उनले स्टोक सिटीविरुद्ध लगातार आठ खेलमा गोल गरेका थिए, अब मानेले भान पर्सिलाई उछिनेका छन् । यो यस्तो कीर्तिमान हो, जुन कहिले पनि सजिलै तोडिने छैन् ।
अब स्थिति कस्तो बनेको छ भने लिभरपुलले प्यालेसको सामना गर्दा टिममा माने छन् भने ढुक्क भए हुन्छ, उनले कुनै न कुनै समय गोल निकाल्ने छन् । उनको प्रदर्शनबाट व्यवस्थापक योर्गन क्लोप पनि खुसी छन् र उनको खुसी प्यालेसविरुद्धको कीर्तिमानमा भन्दा सय गोलमा छ ।
उनी भन्छन्, ‘हाम्रो लागि उनी निकै महत्त्वपूर्ण खेलाडी हुन् ।’
–मिररको सहयोगमा ।