काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले टिममा खेलाडीबीच तालमेल नमिलेको बताएकी छिन् ।
बंगलादेशसँग आईतबार गोलरहित बराबरी खेलेपछि बोल्दै कप्तान नगरकोटीले पाहुना टिमविरुद्ध अपेक्षा अनुसार प्रर्दशन गर्न नसकिएको बताइन्।
‘सोचेको जस्तो खेल्न सकेनौं । गोल निस्कनमा समेत समस्या भयो । टिममा नयाँ खेलाडी छन् । तालमेल मिलेको छैन । सिक्ने मौका छ। प्रर्दशनमा सुधार गर्ने कोशिश गर्नेछौं ।’ उनले भनिन् ।
कप्तान नगरकाटीले नयाँ प्रशिक्षकसँग सिक्न गाह्रो भइरहेको बताइन् ।
‘नयाँ प्रशिक्षकको नेतृत्वमा खेल्न गाह्रो भइरहेको छ । सिक्नलाई समय लागिरहेको छ ।’ उनले भनिन्, ‘टिममा सिनियर खेलाडीपनि छैनन् । एक्कासी नयाँ खेलाडी आएका छन् । सिकाउन नि गाह्रो भइरहेको छ ।’
उनले विस्तारै टिममा देखिएको समस्या हट्दै जाने विश्वास व्यक्त गरिन् ।
‘तालमेल मिल्न गाह्रो भइरहेको छ । टिम विस्तारै राम्रो हुन्छ । अहिले टिममा केही कमजोरी देखिन्छ ।’ उनले भनिन् ।
राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका फिलिप्स निकै ढिलो बन्द प्रशिक्षणमा जोडिएका थिए । खेलाडीले नयाँ विदेशी प्रशिक्षकसँग नयाँ ढाचामा फुटबल खेल्न गाह्रो मानेको देखिन्छ ।
बिहीबार पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा आईतबार गोलकै लागि संघर्ष गर्नपर्यो ।
नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशसंग निराशाजनक गोल रहित बराबरी खेलेको छ । टिमको प्रर्दशन र नतिजाबाट प्रशिक्षक ग्यारी फिलिप्स समेत असन्तुष्ट देखिएका छन् ।
एसियन कप छनोटको तयारी गरेको नेपालले बंगलादेशलाई दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं बोलाएको थियो ।
खेल हाइलाइट्स :