काठमाडौं । रियल मड्रिड १८ महिना भन्दा बढी समयपछि आफ्नो घर सान्टियागो बर्नाबाउमा फर्कदैछ ।
स्पेनी ला लिगामा आज आइतबार रियलले सेल्टा भिगोको आथित्य गर्दैछ र यो खेल यही ‘आइकोनिक’ बर्नाबाउ मैदानमा हुनेछ ।
बर्नाबाउमा अन्तिम पटक खेल भएको पनि ५ सय ६० दिन अगाडी थियो । यी समय अवधिमा बर्नाबाउ एकपछि अर्को पुर्ननिर्माणबाट गुज्रिएको थियो ।
अन्तर्राष्ट्रिय ब्रेक पछि बर्नाबाउ खोल्दा एकैपल्ट सबैलाई प्रवेशका लागि अवसर भने दिइने छैन् ।
सन् २०२० को मार्च १ मा रियलले यहाँ अन्तिम पटक खेलेको थियो । त्यति बेला प्रशिक्षक जिनेदिन जिदान थिए र प्रतिद्वन्द्वी बार्सिलोना थियो ।
त्यस खेलमा रियल २–० ले विजयी रहेको थियो । अबको अवसरलाई लिएर रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भनेका छन्, ‘फेरि एकपल्ट सान्टियागो बर्नाबाउमा फुटबल फर्कदैछ । यो निकै रोमाञ्चक स्थिति हो । तर यो अवधि हाम्रो लागि मात्र होइन्, सबैका लागि सुखद रहेन् । यी कठिन समय थिए ।’

कोरोना भाइरस संक्रमणको महामारीका बेला रंगशालामा दर्शक प्रवेशमा निषेध भएपछि रियलले त्यसको फाइदा उठाएर बर्नाबाउको पुर्ननिर्माण गरेको थियो ।
यसबीच क्लबले भने आफ्नो सानो अर्को घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा खेलेको थियो । यस नयाँ सिजन भने रियलले आफ्ना सुरुआती तीनै खेल विपक्षी टिमको मैदानमा खेलेको थियो ।
–एपीको सहयोगमा ।