काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टिम विराटनगर सिटी एफसी र फुटसल फाइभ धरानबीच साझेदारीको लागि सम्झौता भएको छ ।
विराटनगरले फुटसलमा पार्टनर क्लबको रुपमा धरानको फुटसल फाइभसँग सहकार्य गरेको हो ।
विराटनगरले शुक्रबार फुटसल फाइभसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।
विराटनगरका सीईओ सुभासिस कोइराला र फुटसल फाइभका म्यानेजर जीवन मगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा विराटनगर फुटसल फाइभको प्रायोजकको रुपमा रहनेछ ।
फुटसल फाइभले पोखरामा आयोजना हुने फुटसल लिग खेल्दैछ । पोखराको बहूदेशीय कभर्डहलमा फुटसल लिग असोज २ गतेदेखि असोज २२ गतेसम्म आयोजना हुनेछ ।
यस्तै प्रदेश-१ का युवाहरुलाई खेलकुद कल्चरको विकास गर्न अभियान चलाउने, प्राविधिक तथा मार्केटिङको ज्ञान र सिप आदनप्रदान गरिने सम्झौतामा उल्लेख गरिएको छ ।