काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडीले साफ फुटबलको उपाधि सहित स्वदेश फर्कने बाचा गरेका छन् ।
साफको अन्तिम तयारीका लागि कतार उड्नु अघि खेलाडीहरुले उपाधि सहित नेपाल फर्कने बाचा गरेका हुन् ।
राष्ट्रिय टिमका सिनियर खेलाडी सुजल श्रेष्ठले उपाधि भित्र्याउने लक्ष्य सहित अन्तिम तयारीका लागि कतार उड्न लागेको बताए ।
‘टिम राम्रो छ । जता जादा समेत जित्नका लागि जाने गरेका छौं । यसपटक समेत उपाधि नेपाल ल्याउने लक्ष्य सहित जादैछौं ।’ उनले भने ।
उनले नयाँ खेलाडीको आगमनले टिम उत्कृष्ट लयमा रहेको बताउँदै देशका लागि राम्रो खेल प्रर्दशन गर्ने बताए ।
अर्को महिला माल्दिभ्समा आयोजना हुने साफको तयारीका लागि राष्ट्रिय फुटबल टिम शुक्रबार कतार प्रस्थान गरेको छ । कतारमा नेपाली टिमले दुई साता बढी प्रशिक्षण गर्नेछ । प्रशिक्षण सकेर नेपाली टिम कतारबाट माल्दिभ्स प्रस्थान गर्नेछ ।
नेपालले गत साग फुटबल सुजल श्रेष्ठकै कप्तानीमा खेलेको थियो । श्रेष्ठ सम्मिलित राष्ट्रिय टिमले साग फुटबलमा स्वर्ण पदक जितेको थियो ।
अर्का खेलाडी अनन्त तामाङले नयाँ खेलाडी र पुराना खेलाडीको मिश्रणले टिम निकै उत्साहित रहेको बताउँदै साफको उपाधि जित्न आफ्नो तर्फबाट उत्कृष्ट प्रर्दशन दिने बताए ।
‘यस पटक साफको उपाधि नेपाल ल्याउन आफ्नो उत्कृष्ट दिनेछौं । नयाँ खेलाडी भएपनि फुटबलमा उत्कृष्ट प्रर्दशन दिने हो । नयाँ खेलाडीले समेत आफुलाई प्रमाणित गरिसकेका छन् ।’ उनले भने ।
तामाङले मैत्रीपूर्ण खेलमा भारतविरुद्ध गरेका गल्ती कतार बसाइका क्रममा सुधार गरिने बताए ।
शुक्रबार कतार उडेको नेपाली टिमले त्यहाँ १५ दिन प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबारनै कतार उडेका थिए ।
याे पनि, राष्ट्रिय फुटबल टिम कतार प्रस्थान