काठमाडौं । अहिले विश्व फुटबल एउटा बहसमा छ र त्यो हो, के प्रत्येक दुई दुई वर्षमा विश्वकप आयोजना ठीक छ त ? यो बहसका खास जन्मदाता हुन्, आर्सन वेन्गर । उनी अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको फुटबल डेभलपमेन्ट निकायका प्रमुख हुन् । फिफाले विश्व फुटबलमा सुधार गर्न के के आवश्यक छ भनेर उनलाई खोजीनीति गर्न भनेको थियो ।
अनि यी आर्सनलका पूर्व व्यवस्थापकले त्यसको पूरा योजना तयार पारिहाले । त्यसको सबैभन्दा मुख्य निचोड भनेको प्रत्येक दुई दुई वर्षमै विश्वकप गर्नु पर्छ भन्ने नै हो । नेपालसँगै दक्षिण एसियाका चार देशले यसको समर्थन समेत गरिसकेको छ । भर्खरै मात्र वेन्गर आफैले आफ्नो योजनाबारे खुलासा गरेका छन् । उनले भनेका छन्, ‘म शतप्रतिशत ढुक्क छुं, यो नै विश्व फुटबलको समस्या समाधान गर्ने ठीक उपाय हो ।’
त्यसो त उनको योजनाको विरोध पनि भइरहेको छ, विशेषत: युरोपेली महासंघ र यससँग आवद्ध क्लबबाट । तर केही ठूला फुटबल शक्ति देश र क्लबलाई छाडेर सबै के सहमत छन् भने यो खेलमा सुधार आवश्यक छ, नत्र यो यिनै ठूला देश र क्लबको खेल मात्र भएको छ । वेन्गरका अनुसार ठूला प्रतियोगिता कम हुँदा देश होस अथवा क्लब, तिनीहरू साना साता प्रतियोगितामै अलमलिएका हुन्छन् ।
प्रत्येक दुई दुई वर्षमा विश्वकप हुन्छ भने यसै कारण साना साना प्रतियोगिता हराएर जानेछन् । देश, क्लब र खेलाडी सबैले अहिलेको तुलनामा कम खेल खेल्नेछन् । उनकै शब्दमा विश्वकप दुई दुई वर्षमा हुँदा त्यसले फुटबलमा साना र कमजोर देशलाई फाइदा हुनेछ । उनले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म १ सय ३३ देशले विश्वकप खेल्न पाएका छैनन् ।
खालि तिनको काम भनेको छनोट खेल्ने मात्र हुँदै आएको छ । केही खेलाडी जति सुकै किन राम्रो नहोस, उसले आफू जन्मेको देशका कारण विश्वकप खेल्न पाउँदैनन् । तर केही यस्ता कमसल खेलाडी पनि हुने गर्छ, जसले आफू जन्मेकै कारण विश्वकप खेल्ने पाउँछन् । जस्तो, युरोप र दक्षिण अमेरिका ।
विशेषत: एसियाली देशले फुटबलमा जत्तिकै लगानी र प्रगति गरे पनि विश्वकपसम्म पुग्ने बाटो कठिन मात्र छैन्, असम्भव नै छ । यी तर्क ठीक पनि सुनिन्छ, त्यसैले त होला, वेन्गरको योजनालाई समर्थन गर्नेहरू बढिरहेका छन् । अब त्यस्तो दिन टाढा पनि हुने छैन्, जति बेला प्रत्येक दुई दुई वर्षमा विश्वकप आइपुग्नेछन्, अनि साना साना फुटबलमा कमजोर देशले पनि विश्वकप खेल्ने सपना देख्न सक्छ ।
–बीबीसीको सहयोगमा ।