काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज शुक्रबार कतारको दोहा प्रस्थान गरेका छन् ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम कतार प्रस्थान गरेका हुन् ।
कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छन्।
नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ। नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छन्।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।