काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरिन् ।
बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन् ।
खेलको १४ औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले विमला चौधरीको क्रसमा हेड गोल गरिन् ।
खेलको २३ औं मिनेटमा सरु लिम्बुको पासमा प्रितीले बक्स बाहिरबाट गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिइन्।
त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएपनि नेपालले २-१ को जित निकाल्यो । बंगलादेशले नेपालविरुद्ध गरेको यो दोस्रो गोल हो ।
यस जितसँगै नेपाली महिला फुटबल टिमले घरेलु मैदान दशरथ रंगशाला डेब्यु समेत गरेको छ ।

प्रिती राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ।
छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।
नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।