काठमाडौं । कतारको दोहा जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टिम भोलि शुक्रबार दोहा प्रस्थान गर्ने छन् ।
साफ च्याम्पियनसिपका लागि नेपालले कतारमा तयारी गर्न लागेको हो ।
जसका लागि नेपाली टिम त्यसतर्फ जाने भएका हुन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा २५ खेलाडीले कतारमा प्रशिक्षण गर्ने छन् ।
नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन् ।