काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा डेब्यु गरेको छ ।
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलसँगै महिला टिमले नेपाली फुटबलको मूल घर दशरथ रंगशालामा डेब्यु गरेको हो ।
नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको साढे तीन दशकपछि मूल घरमा खेल्ने अवसर जुरेको हो । यस अघि नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेको थिएन ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमले सन् १९८६ मा पहिलो पल्ट खेलेको थियो र प्रतियोगिता थियो, एएफसी वुमेन्स च्याम्पियनसिप ।
त्यस यता नेपाली महिला राष्ट्रिय फुटबल टिमले औपचारिक खेल दशरथ रंगशालामा खेल्ने अवसर कहिले पनि पाएन । यस्तोमा बंगलादेशविरुद्ध यो पहिलो खेल ऐतिहासिक बनेको छ।
नेपाली महिला फुटबलले अन्तराष्ट्रिय फुटबल अधिकांस समय विदेशमै खेलेको छ ।
नेपालले सबैभन्दा पहिले स्वदेशमा खेलेको भनेको पनि सन् २०१६ मा मात्र हो, जति बेला मलेसिया मैत्रीपूर्ण खेल खेल्ने काठमाडौं आएको थियो ।
तर, नेपालले त्यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा खेलेको थियो । त्यसपछि नेपालले महिला अन्तर्राष्ट्रिय फुटबल विराटनगर र पोखरामा खेलेको छ ।
विदेशी प्रशिक्षकको डेब्यु -
नेपाली महिला राष्ट्रिय फुटबल टिमको दशरथ रंगशालामा डेब्यु गर्दा महिला टिमका लागि विदेशी प्रशिक्षकले समेत डेब्यु गरेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमले पहिलो पटक विदेशी प्रशिक्षकको नेतृत्वमा खेलेको छ ।
यी भाग्यमानी प्रशिक्षक अरू कोही होइनन्, ग्यारी फिलिप्स हुन् ।
महिला राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् १९८६ को एएफसी वुमेन्स च्याम्पियनसपबाट हो । तर, सबै प्रशिक्षक नेपाली थिए । ती हुन्, खेम गुरुङ, उमेश प्रधान, ध्रुव केसी, किशोर केसी, कुमार कटुवाल, कुमार थापा र हरि खड्का ।
फिलिप्स महिला टिमको आठौं प्रशिक्षक हुन् , विदेशी प्रशिक्षकमा भने पहिलो ।