काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बिहीबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
दशरथ रंगशालामा डेब्यु गर्दै ..
बंगलादेशविरुद्ध मैदान उत्रदा राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा डेब्यु गर्नेछ। नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन।
यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ। नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्ने छ।
दर्शकलाई अनुमति ..
नेपाल र बंगलादेशबीचको खेल हेर्न एन्फाले दर्शकलाई अनुमति दिएको छ । एन्फाले टिकट मूल्य समेत तोकेको छ ।
एन्फाले सामान्य प्यारापिटमा २ सय र भीआईपीतर्फ ५ सयको टिकट मूल्य राखेको छ ।
दर्शकले प्रभु पे बाट टिकट किन्न सक्ने एन्फाले जनाएको छ ।
प्रत्यक्ष प्रशारण ..
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स टेलिभिजनबाट हुनेछ ।