एजेन्सी । विश्वकपको युरोपियन छनोटमा इटालीले शानदार जित निकालेको छ ।
बुधबार राति इटालीले लियुनियालाई ५–० गोल अन्तरले हरायो ।
युरोपियन च्याम्पियन इटालीले ३७ खेलसम्म अपराजित रहने पहिलो राष्ट्रिय टिमको कीर्तिमान बनाएको छ ।
आईतबार स्विटजरल्याण्डसंग गोल रहित बराबरी खेलेको इटालीले नयाँ कीर्तिमान कायम गरेको हो ।
रोबर्ट मानचिनी नेतृत्वको टिमलाई जित दिलाउन एभर्टनका फरवार्ड मोइस केनले दुई गोल गरे । उनी लोनमा युभेन्ट्स आएका छन् ।
इटालीको जितमा गिभानी डी लोरेन्जो, जियाकोमो रासपाडोरी एक एक गोल गरे । अजुरीले एडगारस उत्कुसको एक आत्मघाति गोल उपहार पाएको थियो ।
इटालीले पछिल्लो हप्तानै सर्वाधिक अपराजित टिमको कीर्तिमान ब्राजिलसंग बराबरी गरेको थियो । ब्राजिल सन् १९९३ देखि १९९६ सम्म ३६ खेलमा अपराजित रहेको थियो । इटालीले राष्ट्रिय टिमको इतिहासमा पहिलो पटक ३० मिनेटभित्र चार गोल गरेको हो ।
सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसंग पराजित बनेपछि इटाली अपराजित छ ।
इटाली समूह सीको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको स्विटजरल्याण्डसंग ६ अंकको अग्रता लिएको छ । तर स्विटजरल्याण्डले दुई खेल कम खेलेको छ ।