काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर नियुक्त भएका छन् ।
प्रिमियरले बुधबार किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो।
प्रिमियर स्कुलका एमडी वसन्त थापाले किरणलाई सम्झौता पत्र प्रदान गरे। सम्झौतासँगै किरण स्कुलको स्पोर्ट्स कार्यक्रममा सामेल हुने छन्।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, स्कुलका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
सम्झौतापछि बोल्दै कप्तान किरणले प्रिमियरले शिक्षासँगै राम्रो फुटबल खेलाडी उत्पादन गर्नेमा आशा व्यक्त गरे।
'निकै खुसी लागेको छ । स्कुल स्कुलमा फुटबल एकेडेमी सुरू भएको छ । यसले राम्रो खेलाडी उत्पादन हुनेमा आशावादी छु,' किरणले भने, 'शिक्षाबाट प्रिमियरले देश विदेशमा नाम कमाई सकेको छ। मेरो आगमनले फुटबल र स्पोर्टसमा पनि राम्रो हुनेमा आशावादी छु। शिक्षासँगै राम्रो फुटबलर उत्पादन गर्न सक्नेमा आशावादी छौँ ।'
प्रिमियरका स्कुल डिरेक्टर पवित्रा लिम्बुले किरणलाई खेलकुदको रोल मोडलको रुपमा अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताईइन् ।
'म निकै उत्साहित छु । मेरो शिक्षा लागेपछि सम्झनलायक क्षणमा यो पनि एक हो । शिक्षाबाट नेपाल चिनाउने लक्ष्य हाम्रो हो,' उनले भनिन्, 'किरणलाई खेलकुदमा रोल मोडलको रूपमा एम्बास्डर नियुक्त गरेको हौं। हामीलाई धेरै खुशी लागेको छ।'