काठमाडौं । इंग्लिस प्रिमियर लिग सुरु भएर दुई चरण के सकिएको छ, एक जना व्यवस्थापक बर्खास्त हुँदैछ भनेर हल्ला पनि सुरु भइसकेको छ । यी अभाग्यशाली व्यवस्थापक अरू कोही होइनन्, आर्सनलका मिखेल आर्टेटा हुन् । अहिले लन्डनको फुटबल बजारमा सबैले प्रश्न गरिरहेका छन्, के आर्टेटा बर्खास्त हुनेछन् ?
यो हल्ला पछाडि ठोस तर्क नभएको पनि होइन् । आर्सनल सुरुआती दुवै खेलमा पराजित रहेको छ, त्यो पनि संयोगले दुवै लन्डन प्रतिद्वन्द्वीविरुद्ध । आर्सनल पहिला ब्रेन्टफोर्डविरुद्ध पराजित रह्यो । त्यसपछि चेल्सीविरुद्ध । चेल्सीविरुद्ध आर्सनलको प्रदर्शन निकै खराब थियो । अब आर्सनलले तेस्रो खेलका लागि म्यानचेस्टर सिटीको भ्रमण गर्नेछ ।
त्यस खेलमा पनि अपेक्षित हार बेहोर्यो भने आर्सनल सिजनको पहिलो इन्टरनेसल ब्रेक अगाडि अंकविहीन रहन सक्नेछ । यस्तोमा आर्टेटाको भविष्यलाई लिएर प्रश्न उठ्नु स्वभाविक पनि हो । यो प्रश्न किन पनि ठीक छ भने आर्सनलको प्रदर्शन मात्र कमजोर रहेको छैन्, टिमका खेलाडी प्राविधिक रूपमा निकै कमजोर पनि देखिएका छन् ।

यसको दोष जाने त प्रशिक्षकमै हो । सायद त्यसैले चेल्सीविरुद्धको खेलपछि केही आसर्नल समर्थकले आर्टेटासँग इमिरेट्स रंगशालाबाहिर झगडा गर्न नै खोजे । आर्टेटा आफै सबै प्रकारको आरोप सहेर अगाडि बढ्ने मनसायमा देखिन्छन् । त्यसैले उनले टिममा सुधार बाहेक अहिले तत्काल कुनै विकल्प नभएको बताउँदै आएका छन् ।
आर्सनलको भित्री स्रोतले के भनिरहेको छ भने आर्सनलको माथिल्लो व्यवस्थापन आर्टेटालाई अझै केही मौका दिने पक्षमा छ । उनीहरूलाई लागेको छ, सायद टिम खराव लयमा छ । यसमा सुधार आउने छ, यसको विकल्प प्रशिक्षकको वर्खाती होइन् । तर यसरी कति दिन चल्छ र ? ढिलो चाँडो आर्टेटा बर्खास्तीमा पर्न सक्नेछन् ।

–मिररको सहयोगमा ।