काठमाडौं । चेल्सी सात वर्षदेखि रोमेलु लुकाकुलाई आफ्नो बनाउन चाहन्थ्यो । अनि १० वर्ष पनि भइसकेको थियो, लुकाकुले अन्तिम पटक चेल्सीको जर्सि लगाएको पनि । जति बेला उनी फेरि एकपल्ट क्लबका आफ्नै खलाडी बने, चेल्सीले आफ्नो वेब साइटमा गर्वले घोषणा पनि गरेको छ, दोस्रो ‘घर फर्काइ’ भनेर ।
इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीले आर्सनलको भ्रमण गर्दा बेल्जियमका यी फरवार्डले दोस्रो पल्ट डेब्यु पनि गरे । र, उनको प्रदर्शन पनि राम्रै रह्यो । उनकै गोलको मदतले चेल्सीले इमिरेट्समा अग्रता पनि लिएको थियो । विश्वास नहुन सक्छ, सन् २०११ देखि २०१४ बीच लुकाकुले तीन वर्ष चेल्सीमा बिताए, तर एकै गोल पनि गर्न सकेका थिएनन् ।

यसबीच उनले १५ खेल खेले । त्यसमध्ये कुनैमा पनि सुरुदेखि खेल्न पाएनन् । त्यो बिर्सनलायक समय थियो । तर अहिले युरोपेली च्याम्पियनका लागि के मैदानमा उत्रे, गोल गरिहाले । अहिले सम्झनालायक समय बनेको छ । आफ्नो लन्डन प्रतिद्वन्द्वीमाथि प्राप्त जितपछि थोमस टुचेलको टिमले प्रिमियर लिगमा उपाधिका लागि बलियो चुनौती पेस गर्ने पनि निश्चित जस्तै देखिएको छ ।
सानो छँदैदेखि लुकाकु चेल्सीका समर्थक थिए । इंग्ल्यान्डमै रहेको बेला केही समय उनले एभरटनका लागि पनि खेले । पछि म्यानचेस्टर युनाइेटड लागे । उनले अन्तिम पटक इन्टर मिलानका लागि खेले र त्यसक्रममा इटालीको सिरी ए उपाधि पनि जिते । अहिले उनी २८ वर्षका भए, उनीमाथि नौ करोड ७५ लाख पाउन्ड मूल्य पनि जोडिएको छ ।

आर्सनलविरुद्ध उनले आफ्नो मूल्य अनुसारको खेल पनि खेले । टुचेल पनि उनको खेलका ठूला प्रशंसक हुन् । उनले भनेका छन्, ‘लुकाकुले गज्जबको सुरुआत पाएका छन् । उनले आफ्नो मूल्यलाई न्याय गरेका छन् ।’ लुकाकु आएपछि चेल्सी आफैमा अझ बलियो भएको विश्वास पनि छ । भन्न कर लाग्छ, लुकाकुको दोस्रो ‘घर फर्काइ’ कम्तीका अहिलेका लागि खुबै स्वपनिल रह्यो । बाँकी फेरि समयले बताउने छ ।

–बीबीसीको सहयोगमा ।