काठमाडौं । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो ।
खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ५१ औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए ।
यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न बन्चित भएको थियो । भीएआरको सहायतामा रोनाल्डोको गोल अफसाइड देखिएको थियो ।
यससँगै युभेन्ट्सले बराबरीबाट सिजनको सुरुवात गरेको छ । युभेन्ट्सले पहिलो खेलमा १ अंक जोडेको छ ।
युडिनेजीले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।
