एजेन्सी । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले आफु परिपक्क भएर चेल्सी फर्किएको बताएका छन् ।
चेल्सीमा अनुबन्धित भएपछि लुकाकुले अनुभवी र परिपक्क भएर क्लब फर्किएको बताएका हुन् ।
'अद्भुत क्लबमा फर्कन पाएको म धेरै खुशी छु । मेरो लागि एक लामो यात्रा भएको छ,' चेल्सीको वेबसाइटमा लुकाकुले भनेका छन्, 'म धेरै सिक्न एक बच्चाको रूपमा यहाँ आएको थिए । अब धेरै अनुभव र अधिक परिपक्व भएर म फर्किएको छु ।'
लुकाकुले बिहीबार चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका छन् । चेल्सीले इटालियन क्लब इन्टर मिलानबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा लुकाकुलाई अनुबन्ध गरेको हो ।
लुकाकु सात वर्षपछि चेल्सी फर्किएका हुन् । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाड्नु अघि उनले १५ खेल खेलेका थिए ।
लुकाकुले आफु चेल्सीलाई थप उपाधि दिलाउन आएको समेत बताए ।
'चेल्सी छोडेपछि धेरै उतारचढाब र एक लामो यात्रा भएको छ । तर यी अनुभवहरुले मलाई बलियो बनाएको छ । क्लबलाई थप उपाधि जिताउन चुनौती छ । क्लबलाई अधिक सफलता दिलाउनका लागि म प्रतिक्षा गर्न सक्दिन ।'
चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।
सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्डट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।
२८ वर्षीय लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।
लुकाकुले सिरी 'ए' मा गत सिजन २४ गोल गरेका थिए । उनले इन्टरलाई ११ वर्षपछि लिगको उपाधि जिताएका थिए । ९ वर्षको युभेन्ट्सको एकाधिकार तोड्दै इन्टरले गत सिजन सिरी 'ए' को उपाधि जितेको थियो ।
लुकाकुले बेल्जियमको लागि ९८ खेलमा ६४ गोल गरेका छन् ।